काठमाडौं -नवौँ राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता २०८३ सुरु भएको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा भएको प्रतियोगिता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलको उद्घाटन गरेका हुन्।
मन्त्री पोखरेलले एमबुद्ध पार्क आफूहरू महानगरपालिकामा रहँदा परिकल्पना गरेअनुसार निर्माण भएको बताए ।उनले पार्कको निर्माणले स्केटिङ तथा स्केट बोर्डिङ खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँको पहेँलो पुल नजिक निर्माण गरिएको एमबुद्ध पार्कको सदुपयोग गर्न स्थानीयवासीलाई आग्रह गर्दै मन्त्री पोखरेलले पार्क निर्माणबाट आफू उत्साहित भएको बताएका थिए । दुई दिने प्रतियोगितामा देशभरबाट १५० पुरुष र १०० महिला गरी २५० खेलाडीको सहभागिता रहेको छ। पहिलो दिन शनिबार छनोट चरणका खेल सम्पन्न भएका छन् भने आइतबार उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा स्केट बोर्डिङको ‘फ्रिस्टाइल’ विधामा प्रतिस्पर्धा भइरहेको छ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘बेस्ट ट्रिक’ र ‘बेस्ट रन’ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताबाट ‘स्केटबोर्डर अफ द इयर’ समेत घोषणा गरिने आयोजकले जनाएको छ।रुष तथा महिला सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी जुनियर पुरुष तथा महिला समूहमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौंमा आयोजना भइसकेको छ।