काठमाडौं - फिफा विश्वकप-२०२६ हेर्न अमेरिका तथा मेक्सिको जाने तयारीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।अध्यागमन स्रोतका अनुसार मंगलबार बिहान विदेश प्रस्थान गर्ने क्रममा उनीहरूलाई रोकिएको हो।
अध्यागमन विभागको ‘ब्ल्याक लिस्ट’मा नाम रहेकाले विदेश जान अनुमति नदिइएको विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले बताएका छन्।एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईसहित २४ जना पदाधिकारी, कार्यसमिति सदस्य तथा कर्मचारीलाई गत वैशाखमा अध्यागमन विभागले विदेश यात्रा गर्न रोक लगाएको थियो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा उनीहरूलाई अध्यागमनको कालोसूचीमा राखिएको थियो। राखेपले एन्फाको आर्थिक गतिविधि तथा प्रशासनिक विषयमा छानबिन अघि बढाएपछि विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरेको थियो। त्यसअनुसार गृह मन्त्रालयमार्फत अध्यागमन विभागले सम्बन्धित पदाधिकारीहरूको राहदानीमा प्रतिबन्ध लगाएको थियो।
विश्वकप अवलोकनका लागि विदेश जान सहज बनाइदिन आग्रह गर्दै अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेप पुगेका थिए। तर राखेपले विदेश यात्रा खुला गर्ने निर्णय नगरेपछि प्रतिबन्ध यथावत् रहेको स्रोतले जनाएको छ।यसअघि राखेपले एन्फा नेतृत्वलाई तीन महिनाका लागि निलम्बन गरेको थियो। यद्यपि पछि छलफलमार्फत निलम्बन फुकुवा भए पनि आर्थिक तथा प्रशासनिक छानबिनसँग सम्बन्धित यात्रा प्रतिबन्ध भने कायम रहेको देखिएको छ।
एन्फा र राखेपबीच पछिल्ला महिनाहरूमा निर्वाचन प्रक्रिया, प्रशासनिक अधिकार तथा आर्थिक पारदर्शितालगायत विषयमा विवाद चल्दै आएको छ। सोही विवादका बीच एन्फाका शीर्ष पदाधिकारीहरू विदेश जानबाट रोकिएका हुन्।