काठमाडौं - फिफा वि श्वकप-२०२६ मा खेल सञ्चालन गर्ने तयारीमा रहेका सोमाली फुटबल रेफ्री ओमार अब्दुलकादिर आर्तान(Omar Abdulkadir Artan) लाई अमेरिका प्रवेश गर्न नदिएपछि उनी विश्वकप रेफ्रीको जिम्मेवारीबाट बाहिरिएका छन्।
विश्वकपको फाइनल चरणमा खेल सञ्चालन गर्ने पहिलो सोमाली रेफ्री बन्ने तयारीमा रहेका अर्तानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी अध्यागमन अधिकारीहरूले रोक लगाएका थिए। त्यसपछि उनी विश्वकपका लागि आवश्यक प्रशिक्षण तथा खेल सञ्चालन प्रक्रियामा सहभागी हुन नसक्ने भएको फिफाले पुष्टि गरेको छ।
फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “म्याच अफिसियल ओमार अब्दुल्कादिर अर्तानलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्न नदिइएकाले उनी फिफा विश्वकप २०२६ मा प्रशिक्षण लिन तथा खेल सञ्चालन गर्न असमर्थ हुनेछन्।”
अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (CBP) का अनुसार, इस्तानबुलबाट मियामी पुगेका एक सोमाली नागरिकलाई “भेटिङ सम्बन्धी चिन्ता” (vetting concerns) का कारण प्रवेश अनुमति नदिइएको हो। यद्यपि अधिकारीहरूले अर्तानमाथि किन यस्तो निर्णय गरियो भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्।
३४ वर्षीय अर्तानलाई सन् २०२५ मा Confederation of African Football ले अफ्रिकाको उत्कृष्ट पुरुष रेफ्री घोषणा गरेको थियो। उनी विश्वकप २०२६ का लागि छनोट भएका ५२ रेफ्रीमध्ये एक थिए र विश्वकपमा खेल सञ्चालन गर्ने पहिलो सोमाली नागरिकका रूपमा इतिहास रच्ने अवस्थामा थिए।
यो घटनाले विश्वकपअघि अमेरिकी अध्यागमन नीतिमाथि पुनः प्रश्न उठाएको छ। सोमालिया अमेरिकी प्रशासनद्वारा लागू गरिएको यात्रा प्रतिबन्ध सूचीमा पर्ने देशहरूमध्ये एक हो। यद्यपि अर्तानसँग वैध अमेरिकी भिसा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।हाल अर्तान टर्कीमा रहेको र उनी विश्वकप रेफ्री टोलीबाट औपचारिक रूपमा बाहिरिएको जनाइएको छ।