काठमाडौं- नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हराई छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हाे ।
नेपालले यसअघि नै एसियन गेम्समा स्थान बनाईसकेको छ । जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको छ । नेपालका लागि लोकेश बमले सर्वाधिक अविजित ४४ रन बनाए।
उनले २६ बलमा सात चौका र एक छक्का हाने । ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाए । बलिङमा ओमानका समिर ओथामनले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सफियान मोहम्मद सर्वाधिक ३८ रन बनाए । जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन जोडे ।
बलिङमा नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई तथा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
पराजित ओमानले पनि यसअघि नै एसियन गेम्समा स्थान बनाईसकेको छ । उपाधिका लागि नेपालले मलेसिया र हङकङबिचको सेमिफाइनल विजेतासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।