काठमाडौं - ललितपुरस्थित सातदोबाटो एन्फा कम्प्लेक्सको सुटिङ रेन्जमा २६औँ महिला तथा २७औँ पुरुष राष्ट्रिय सुटिङ प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली गरी १० टोलीका ६७ खेलाडी सहभागी छन्।
प्रतियोगिता संयोजक तथा नेपाल सुटिङ संघका उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठका अनुसार प्रतियोगितामा ३१ महिला र ३६ पुरुष खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचन्द्र मेहताले गरेका हुन्। उद्घाटन समारोहमा उनले अन्तर्राष्ट्रिय सुटिङ स्पोर्ट्स फेडेरेसन (ISSF) डेभलपमेन्ट फन्ड र एसियन सुटिङ कन्फेडेरेसनबाट नेपालको सुटिङ खेलको विकासका लागि प्राप्त खेल सामग्री नेपाल सुटिङ संघलाई हस्तान्तरण गरे।
उद्घाटन समारोहमा नेपाल सुटिङ संघका अध्यक्ष पुष्कर दास श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा संघका पदाधिकारी, विभिन्न खेल संघ–संस्था, सहयोगी निकाय तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन नेपाल सुटिङ संघका महासचिव प्रदीप खातीले गरेका थिए। प्रतियोगिताले नेपाली सुटिङ खेलको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।