काठमाडौं- २६औँ महिला तथा २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियनसिप सातदोबाटोमा सुरु हुने भएको छ।नेपाल सुटिङ संघको आयोजनामा २६औँ महिला तथा २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियनसिप आगामी जेठ २३ गतेदेखि सातदोबाटोमा सुरु हुने भएको हाे ।
तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता जेठ २५ गतेसम्म चल्नेछ। प्रतियोगितामा देशभरका सात प्रदेश तथा तीन विभागीय टोली गरी कुल १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
च्याम्पियनसिपमा करिब ८० खेलाडीले प्रतिस्पर्धा गर्ने सुटिङ संघकाे उपाध्यक्ष तथा कार्यक्रम संयोजक ज्ञानेन्द्र श्रेष्ठ बताएका छन्। प्रतियोगिताले नेपाली सुटिङ खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरमा नयाँ प्रतिभाको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय सुटिङ च्याम्पियनसिपमा विभिन्न विधाका खेलहरू समावेश हुनेछन्। प्रतियोगितामा सहभागी खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत राष्ट्रिय टोलीमा स्थान सुरक्षित गर्ने अवसर समेत प्राप्त गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ। सातदोबाटोस्थित खेल परिसरमा सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी सम्पन्न गरिएको छ।
नेपालमा सुटिङ खेलप्रति बढ्दो आकर्षणसँगै राष्ट्रिय च्याम्पियनसिपले खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्न समेत महत्वपूर्ण अवसर उपलब्ध गराउने विश्वास गरिएको छ। प्रतियोगिताको समापन जेठ २५ गते हुनेछ, जहाँ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ।