काठमाडौं - सिंगापुरमा जारी एसियन गेम्स छनोटअन्तर्गत नेपालले चीनविरुद्ध २ सय २१ रनको फराकिलो जित दर्ता गरेको छ। आइतबार बिहान सिंगापुर नेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले चीनलाई पूर्ण रूपमा दबाबमा राख्दै यो जित निकालेको हो।
नेपालले जितका लागि दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन २० ओभर पूरा खेल्न सकेन र ४ बल अगावै मात्र ९२ रनमा समेटियो। चीनलाई सस्तैमा रोक्न नेपालका तर्फबाट बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। विशेष गरी कुशल मल्लले किफायती बलिङ गर्दै १।२ ओभरमा १ मेडन ओभरसहित ३ विकेट लिए।
त्यसैगरी सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने नन्दन यादवको नाममा १ विकेट रह्यो। चीनका लागि सेनजियान झेङले सर्वाधिक ३१ रन बनाए। अन्य ब्याटरहरूमा डु जिनहाओले १७ रन र कप्तान टियान सेनक्वुनले १२ रन जोड्नु बाहेक अन्य कसैले पनि नेपाली बलिङ आक्रमणसामु टिकेर खेल्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा उत्कृष्ट र आक्रामक प्रदर्शन गर्दै चीनविरुद्ध ३१३ रनको ऐतिहासिक योगफल तयार पारेको थियो। नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेलले खेलमा सनसनीपूर्ण ब्याटिङ गर्दै मात्र ४३ बलमा १२९ रनको उत्कृष्ट इनिङ्स खेले। उनले खेलको नवौँ ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडीको कीर्तिमान समेत आफ्नो नाममा गराए।
भुर्तेल बाहेक अन्य नेपाली ब्याटरहरूले पनि चिनियाँ बलरहरू विरुद्ध आक्रामक प्रहार जारी राखे। जसमा कुशल मल्लले ४७ बलको सामना गर्दै ८५ रन र कप्तान रोहित पौडेलले मात्र २१ बलमा ६९ रनको विष्फोटक योगदान दिएका थिए।