काठमाडौं - लगातार दोस्रो जित निकाल्दै नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको जितले चीन पनि सेमिफाइनलमा पुगेको छ । नेपालले बिहीबार मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध चार विकेटको जित निकालेको हो ।
इन्डोनेसियाले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालकी कप्तान इन्दु बर्माले अविजित ४२ रनको योगदान गरिन् । सोनी पाख्रिनले २९, कविता कुँवरले १४ र सीता रानामगरले अविजित १३ रन जोडिन् ।
इन्डोनेसियाका नी एरियानी र नी मेड पुत्री सुवान्देवीले समान दुई विकेट लिए । डारा परमिथा र साङ मेप्रियानीले समान एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रनको योगफल तयार पार्यो ।
इन्डोनेसियाकी कप्तान नी पुतु आयु नन्द सकरिनीले अविजित ५६ रनको अर्धशतकीय पारी खेलिन् । उनले ६२ बलमा तीन चौका प्रहार गरिन् । नी लुह देवीले २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन जोडिन् ।तेस्रो विकेटका लागि सकरिनी र देवीले ६५ रनको साझेदारी गरेका थिए ।
नेपालकी मनिषा उपाध्यायले दुई विकेट लिइन् । रिया शर्माको नाममा एक विकेट रह्यो । जितसँगै नेपालले दुई खेलमा चार अंक जोड्यो । दुवै खेलमा पराजित इन्डोनेसिया भने अंकविहीन रहँदै बाहिरिएको छ । पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको थियो । इन्डोनेसिया चीनसँग तीन विकेटले पराजित भएको थियो ।
सेमिफाइनलमा नेपालले मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा थाइल्यान्ड र चीन भिड्ने छन् ।