काठमाडौं - सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा पुगेको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट उपलब्ध हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी नियमित सेवा बन्द हुनेछन् । जेठ ११ गते बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको जनाएको छ ।
यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, प्रयोगशाला परीक्षण, शल्यक्रिया, औषधि लगायत सेवा प्रभावित हुने भएका छन् । आकस्मिक सेवा भने यथावत रहने बोर्डले स्पष्ट पारेको छ ।
हाल ३६ वटा निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर बोर्डका अनुसार सेवाप्रदायक संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । लामो समयदेखि भुक्तानी रोकिँदा निजी अस्पतालहरूले सरकारप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
स्वास्थ्य क्षेत्रका जानकारहरूले स्वास्थ्य बीमा कार्यक्रम वित्तीय अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण संकटमा पुगेको बताएका छन् । सरकारले कार्यक्रमलाई प्रभावकारी व्यवस्थापन गर्न नसक्दा यसको दिगोपनमाथि नै प्रश्न उठ्न थालेको उनीहरूको भनाइ छ ।
निजी अस्पतालहरूले दाबी रकम भुक्तानीमा ढिलाइ, प्रक्रियागत झन्झट र आर्थिक भारका कारण यसअघि नै बीमाका बिरामी नलिने चेतावनी दिएका थिए । अब बोर्ड आफैंले सेवा स्थगनको निर्णय गरेपछि स्वास्थ्य बीमा कार्यक्रम व्यवहारतः संकुचनको चरणमा पुगेको देखिएको छ ।