खोटाङ- जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले चुमेका छन् ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जितेका हुन् ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो हुनुभएको निर्णयक मण्डलले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः नगद रु २५ हजार, रु १५ हजार र रु दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक नेपाल खेलकुद प्रतिष्ठना खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिएका छन् ।
देशभरका खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ताप्लेजुङका ङिमा शेर्पा चौथो र झापाका सुशान्त दाहाल पाँचौँ भएका छन् । चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः नगद रु आठ हजार र रु सात हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा दोलखाका कविन्द्र सिवाकोटी छैटौँ, दिक्तेलका रिदिप केसी सातौँ, विराटनगरका उमेश राई आठौँ, हलेसीका मेजर राई नवौँ र बुइपाका धीरेन राई दशौँ भएकाे जनाइएको छ । चौथोदेखि माथि दशौँसम्मका सबै खेलाडीलाई जनही नगद रु पाँच हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका सचिव मिलन कसजूले जानकारी दिएका छन् ।
एक दिवसीय प्रतियोगितामा खोटाङको बराहपोखरी गाउँपालिका निवासी खिलराज राई कोशी प्रदेश प्रथम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिभक्त राई दोस्रो घोषित भएका छन् । उनीहरूले क्रमशः नगद रु पाँच हजार र रु चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका बमबहादुर राई खोटाङ प्रथम, जालपाकै ज्ञानबहादुर श्रेष्ठ खोटाङ दोस्रो र नेर्पाका प्रभुराम राई खोटाङ तेस्रो भएका छन् । उनीहरूले जनही क्रमशः नगद रु चार हजार, रु तीन हजार र रु दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
बुद्धिचाल सङ्घ खोटाङको संयोजनमा आयोजना गरिएको प्रतियोगितामा देशभरका ५१ खेलाडीले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले नगदसहित पुरस्कार वितरण गरेका हुन् ।
यही जेठ ३ गतेदेखि सुरु भएको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवको पहिलो दिन दौड प्रतियोगिता आयोजना गरेकाे थियो । छुट्टाछुट्टै उमेर समूह विभाजन गरेर छ विद्यामा आयोजना गरिएको दौड प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरकागरी ७५५ जना धावकले एकैसाथ सहभागिता जनाएका थिए ।
छ दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत जेठ–९ गते ख्यातिप्राप्त साहित्यकारहरुबीच आ–आफ्नो सिर्जना सुनाउने र सुन्न कार्यक्रम राखिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिने साहित्यिक महोत्सवमा कविता, जगल र मुक्तक सुनाउने र सुन्न कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
महोत्सव उद्घाटनको अवसरमा आयोजकले पत्रकार सविना अछामे परियारलाई रु ११ हजार १११ नगदसहित पुरस्कृत गरेको छ । कार्यक्रम समापनको अवसरमा जेठ ९ गते विभिन्न विद्यामा महत्वपूर्ण योगदान गर्ने पाँचजना व्यक्तिलाई नगदसहित सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
महोत्सव सम्पन्न गर्न रु ३० लाख १३ हजार २३२ बजेट लाग्ने अनुमान गरिएको आयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिएका छन् । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।