काठमाडाैं - इङ्लिस प्रिमियर लिग क्लब आर्सनल एफ सी (Arsenal F.C.)ले २२ वर्षपछि लिग उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ । मिकेल आर्टेटाको प्रशिक्षणमा रहेको आर्सनल सिजन २०२५/२६ को प्रिमियर लिग च्याम्पियन बनेको हो ।
म्यानचेस्टर सिटीले बोर्नमाउथसँग १–१ को बराबरी खेलेपछि आर्सनलले एक खेल बाँकी रहँदै उपाधि सुनिश्चित गरेको हो । त्यसअघि आर्सनलले बर्नलीलाई १–० ले हराउँदै शीर्ष स्थान मजबुत बनाएको थियो ।
आर्सनलले पछिल्लोपटक सन् २००४ मा आर्सेन वेङ्गरको नेतृत्वमा प्रिमियर लिग जितेको थियो । त्यसयता क्लबले धेरै पटक उपाधिनजिक पुगेर पनि असफल हुँदै आएको थियो । तर यस सिजन आर्टेटाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै लामो प्रतीक्षा अन्त्य गरेको हो ।
यस सिजन आर्सनलको सफलतामा बुकायो साका, काइ हाभार्ट्ज तथा भिक्टर ग्योकेरेसजस्ता खेलाडीहरूको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । टोलीले बलियो डिफेन्स र निरन्तर प्रदर्शनका कारण उपाधि जित्न सफल भएको हो ।
उपाधि जितेपछि लन्डनस्थित इमिरेट्स स्टेडियम बाहिर हजारौं समर्थकले उत्सव मनाएका छन् । आर्सनलले अब यूईएफए च्याम्पियन्स लिगको फाइनल पनि खेल्ने तयारी गरिरहेको छ ।