काठमाडौं - जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दा फिर्ता लिने घोषणा गरेको छ ।जोरा स्पोर्ट्स कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै क्यानविरुद्ध दायर गरिएका सम्पूर्ण मुद्दा तत्काल फिर्ता लिन तयार रहेको बताएका हुन्।
जोरा स्पोर्ट्सले ‘नेपाल प्रिमियर लिग’ को आधिकारिकता, स्वामित्व तथा बौद्धिक सम्पत्तिसम्बन्धी विषयमा सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत तथा उच्च अदालत पाटन मा मुद्दा दायर गरेको थियो।अख्तरले खेलकुद क्षेत्रमा देखिएका विसंगतिविरुद्ध आफूले खेलाडी जीवनदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै अदालत जानु व्यक्तिगत द्वेषका कारण नभई खेल क्षेत्रको सुधार र विकासका लागि भएको बताएका छन्।
उनले राष्ट्रिय खेलकुद परिषद् ले खेल विकासका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गर्दै मुद्दा फिर्ता लिन गरेको अनुरोधलाई सम्मानस्वरूप स्वीकार गरिएको बताएका छन्।यद्यपि, आफ्नो नाममा दर्ता रहेको ‘नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड’ तथा सो कम्पनीको बैंक खातामाथिको स्वामित्व भने यथावत रहने अख्तरले स्पष्ट पारेका छन्।
उनले आगामी दिनमा पनि नेपालमा क्रिकेटसहित समग्र खेलकुदको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।