खोटाङ- जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३’ सुरु भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको आयोजनामा आजदेखि सुरु भई जेठ ९ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धन रहेको छ ।
खेलकुदका माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय खानाको प्रवर्द्धन गर्ने र क्षमतावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।
“खेलकुदका माध्यमबाट जिल्लालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाका रूपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गरेका हौँ । छ दिनसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने छ”, उनले भने ।
महोत्सवको पहिलो दिन दौड प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा बालबालिका, वृद्धवृद्धा, युवा सबैको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामा उत्पादन गर्ने लक्ष्य राखिएको उनले उल्लेख गरे।
महोत्सवमा एथलेटिक्स, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूले बताए । उनका अनुसार जिल्लाका दशवटै स्थानीय तह र शुभेच्छुकको आर्थिक सहयोगमा आयोजना गरिएको महोत्सवमा देशभरका धावक, साहित्यकार तथा खेलाडीको सहभागिता छ ।
आज एथलेटिक्स विद्याअन्तर्गत दौड प्रतियोगिता आयोजना गरिएको जनाउँदै उनले यसअन्तर्गत जिल्लाभित्र र बाहिरका गरी ७५५ जना धावक सहभागी भएका उल्लेख गरे । सचिव कसजुका अनुसार १५ वर्षभन्दा माथिका १० किलोमिटर खुला दौड प्रतियोगिताको महिलातर्फ खोटाङकी दीपा बस्नेत प्रथम, रणभीम गण मुडे ब्यारेककी जानुका राउत द्वितीय र मनिता खड्का तृतीय भएकी छन् । पुरुषतर्फ ताप्लेजुङका अमीर लिम्बू प्रथम, खोटाङका जगेन्द्र राई द्वितीय र सोलुखुम्बुका रुद्रधन कुलुङ तृतीय भएका छन् ।
उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ, सात हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी धावकलाई नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, सुरक्षा प्रमुखलगायतले पुरस्कार वितरण गरे ।
पैँतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीका लागि सात किमी दौड प्रतियोगितामा उदयपुरका अनन्त राई प्रथम, सुनसरीका विमानसिंह तामाङ द्वितीय र खोटाङका शिवप्रसाद राई तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीयले क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र सात हजार रुपेयाँ पुरस्कार प्राप्त गरेका छन् ।
आमाहरूका लागि पाँच किमी दौडमा जमुना कटवाल प्रथम, रोजना राई द्वितीय र भीमकुमार आचार्य तृतीय भएकी छन् । यसअन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार ५५५ रुपैयाँ, चार हजार ४४४ रुपैयाँ र तीन हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ ।
पन्ध्र वर्षमुनिका छात्रछात्राका लागि आयोजित सात किमी दौडमा छात्रतर्फ सम्पत राई प्रथम, न्यूजल राई द्वितीय र धीरज राई तृतीय भएका छन् । छात्रातर्फ अस्मिता कटवाल प्रथम, लक्ष्मी राई द्वितीय र कविता आचार्य तृतीय भएकी छन् । त्यस्तै, १२ वर्षमुनिका छात्रछात्रा तीन किमी दौड प्रतियोगिताअन्तर्गत छात्रतर्फ निशान केसी प्रथम, दर्शन राई द्वितीय र यञ्जल राई तृतीय भएका छन् भने छात्रातर्फ मन्दिरा श्रेष्ठ प्रथम, एलिसा कटवाल द्वितीय र रक्षा विश्वकर्मा तृतीय भएकी छन् ।
आयोजकका अनुसार १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल दौडमा छात्रतर्फ जालपा माविका अनिल राई प्रथम, श्री मावि बाँस्बोटेका अजय श्रेष्ठ द्वितीय, दिक्तेल बोर्डिङ स्कुलका रविशन खत्री तृतीय भएका छन् । दश वर्षमुनिका छात्रातर्फ जालपा माविका अपेक्ष राई प्रथम, सरस्वती मावि दिक्तेलकी युना राई द्वितीय र श्री मावि बाँस्बोटेकी श्रद्धा राई तृतीय भएकी छन् ।
दिक्तेल बजारस्थित मानव अधिकार चोकलाई केन्द्र मानेर आयोजना गरिएको प्रतियोगितामा ५५ वर्षभन्दा माथिका पुरुषका लागि दुई किमी दौड प्रतियोगिता आयोजना गरिएको थियो । उक्त दौडमा धनीराम राई प्रथम, विचारी तामाङ द्वितीय र वुद्धवीर लामा तृतीय भएका छन् । यसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार ५०० रुपैयाँ, चार हजार ५०० रुपैयाँ र दुई हजार ५०० रुपैयाँ प्राप्त गरेका छन् ।
बाह्र वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः सात हजार ५०० रुपैयाँ, छ हजार ५०० रुपैयाँ र पाँच हजार ५०० रुपैयाँ प्राप्त गरेका छन् भने १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन हजार रुपैयाँ, दुई हजार रुपैयाँ र एक हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
खुला बुद्धिचाल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनेले क्रमशः २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ आठ हजार रुपैयाँ, सात हजार रुपैयाँ र पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । बुद्धिचाल प्रतियोगिता यही जेठ ६ गते र साहित्यिक प्रतियोगिता जेठ ९ गते आयोजना गरिने खेलकुद प्रतिष्ठानका अध्यक्ष राईले जानकारी दिए।
साहित्यतर्फ ख्यातिप्राप्त साहित्यकारबीच आ-आफ्ना सिर्जना सुन्ने, सुनाउने कार्यक्रम राखिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिने साहित्यिक महोत्सवमा कविता, गजल र मुक्तक सुन्ने, सुनाउने कार्यक्रम राखिएको उनले बताए । महोत्सव सम्पन्न गर्न ३० लाख १३ हजार २३२ रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको आयोजक सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिए। महोत्सवका लागि जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिएको हो ।
महोत्सव उद्घाटनको अवसरमा आयोजकले पत्रकार सविना अछामे परियारलाई ११ हजार १११ रुपैयाँ नगदसहित पुरस्कृत गरेको छ । समापनको अवसरमा विभिन्न विद्यामा महत्वपूर्ण योगदान गर्ने पाँच जना व्यक्तिलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष राईले जानकारी दिए ।