काठमाडौं - युवा तथा खेलकुद मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानबिनमा सहयोग नगरेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्र पठाउँदै क्यानसँग अन्तिम पटक स्पष्टिकरण माग गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
उक्त पत्र २३ वैशाखमा राखेपमा दर्ता भएको जनाएको छ।मन्त्रालयका अनुसार क्यानविरुद्ध २०८१ मंसिर ७ गते र २०८१ फागुन १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। सोही उजुरीमाथि छानबिन गर्न २०८१ पुस २५ गते सचिवस्तरीय तथा २०८२ भदौ ५ गते मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरिएको थियो।
तर, खेलकुद विकास ऐन २०७७ को दफा २८ को खण्ड (च) र (ड) अनुसार मन्त्रालय तथा परिषद्ले माग गरेको अभिलेख तथा श्रेस्ता उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था भए पनि क्यानले आवश्यक सहयोग नगरेको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले क्यानलाई अन्तिम पटक चेतावनीसहित स्पष्टीकरण सोध्दै किन कारवाही नगर्ने र किन निलम्बन नगर्ने भन्ने विषयमा जवाफ माग्न राखेपलाई निर्देशन दिएको हो।
खेलकुद विकास ऐन २०७७ को दफा २९ अनुसार क्यानलाई कारवाही तथा निलम्बनसम्म गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले आयोगको पत्रअनुसार आवश्यक कागजात र जवाफ उपलब्ध नगराए कानुनबमोजिम कारवाही प्रक्रिया अघि बढाउन भनेको छ। यस विषयमा क्यानबाट स्पष्ट जवाफ नआएमा थप कारवाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।