काठमाडौं - युवा तथा खेलकुद मन्त्रालय ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीसम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ अनुसार नेपाल सरकार मन्त्रिपरिषद्बाट नियुक्त भएका राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरूलाई २०८३ असोज ११ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार सोही कानुनी व्यवस्थाअनुसार नयाँ पदाधिकारी नियुक्ति गरिएको छ। जारी सूचनामा उपाध्यक्षसहित विभिन्न सदस्यहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ।
उपाध्यक्षमा रुपन्देहीका ध्रुव आचार्य नियुक्त भएका छन् भने सदस्यहरूमा नन्दा बयाल (सुर्खेत), जगतसिंह धामी (दार्चुला), सुभाष श्रेष्ठ (ललितपुर), शान्ति कुमारी चौधरी (झापा), आनन्द कुमार झा (सप्तरी), हिमाल कुमार श्रेष्ठ (गुल्मी), कमलालालु भट्टराई (सर्लाही), भान बहादुर चन्द (कञ्चनपुर), धनञ्जय श्रेष्ठ (काठमाडौं), डा. मधुसूदन सुवेदी (स्याङ्जा), रामचन्द्र श्रेष्ठ (काभ्रेपलाञ्चोक), रत्ना प्रधान (मोरङ), विदुर ढुंगाना (काभ्रेपलाञ्चोक), प्रयाग कार्की (उदयपुर), कुमार लामिछाने (काठमाडौं), रोशन खड्का (भक्तपुर), सन्त कुमार मेहता (सुनसरी) र जगत बहादुर टमाटा (कैलाली) रहेका छन्।
मन्त्रालयले नयाँ नियुक्त पदाधिकारीहरूलाई परिषद्को जिम्मेवारी बहन गर्दै खेलकुद क्षेत्रको विकासमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। साथै, यसअघि रहेका पदाधिकारीहरूको कार्यकाल समाप्त भएसँगै परिषद्को संरचनामा नयाँ नेतृत्व आएको मन्त्रालयले जनाएको छ।
