काठमाडौं- आइसिसी विश्वकप लिग २ क्रिकेटअन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको हो ।
इनिङ्सको सुरुआतमै विनोद भण्डारी शून्यमै आउट भएपछि नेपाल दबाबमा परेको थियो । तर त्यसपछि आसिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले । आसिफ शेख उत्कृष्ट ब्याटिङ गर्दै ९४ रन बनाए । उनले ७ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै अर्जुन कुमालले ४८ रनको योगदान दिए भने मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।
अन्तिमतिर आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर पु¥यायो । ओमानका लागि नदीम खानले ३ विकेट लिए भने शकिल अहमद र हस्नैन शाहले समान २–२ विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।