काठमाडौं- छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८-३६ ले पराजित गर्दै विजयी भएको हो ।
यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाल समूह ‘बी’ मा अपराजित रहँदै सेमिफाइनल खेल्न लागेको हो । नेपालले पहिलो हाफमा १९-१७ ले अग्रता बनाएको थियो । दोस्रो हाफमा सोही अग्रतालाई कायम राख्दै नेपालले जित दर्ता गरेको हो ।
नेपालले समूह चरणको पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दै ४८-३२ को जित दर्ता गरेको थियो ।समूह चरणको दोस्रो खेलमा नेपालले थाइल्याण्डलाई पराजित गरेको थियो । नेपालले थाइल्यान्डलाई ४९-३३ ले पराजित गरेको हो । नेपालले अब सेमिफाइनलमा श्रीलङ्कासँग खेल्नेछ ।