काठमाडौं - गौरीशंकर सुपर लिग यू-१७ ब्वाइज क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौं ले जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा एन्जलस स्पोर्ट्स एकेडेमी लाई ३६ रनले पराजित गर्दै सिईसी काठमाडौं च्याम्पियन बनेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सिईसी काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०५ रन बनाएको थियो। टोलीका लागि दिनेश बोहराले उत्कृष्ट प्रदर्शन गर्दै १० बलमा २ चौका र ३ छक्काको मद्दतले २७ रन जोडे। बुद्धिमान विष्टले १९ रन तथा कप्तान प्रसिद्ध जैशीले १७ रनको योगदान दिएका थिए।
एन्जलस स्पोर्ट्स एकेडेमीका धिराज यादव र प्रह्लाद गौतमले बलिङतर्फ समान २–२ विकेट लिएका थिए।१०६ रनको लक्ष्य पछ्याएको एन्जलस स्पोर्ट्स एकेडेमी सिईसीका बलरहरू सामु टिक्न सकेन। १८.२ ओभरमा ६९ रनमै अलआउट भएको एन्जलसका लागि विशाल ऐयरले सर्वाधिक २१ रन बनाए पनि अन्य खेलाडीले उल्लेखनीय योगदान दिन सकेनन्।
सिईसी काठमाडौंका दिनेश बोहराले अलराउण्ड प्रदर्शन गर्दै टोलीलाई जित दिलाए। उनले ब्याटिङमा २७ रन बनाउनुका साथै बलिङमा ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। अनिकेत सिंहले २ विकेट लिएर राम्रो साथ दिएका थिए।
फाइनल खेलमा पारस खड्का प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै जगत टमाटा, समाजसेवी केदार खड्का तथा गौरीशंकर गाउँपालिका की उपाध्यक्ष उमा मगर शेर्पाको समेत उपस्थिति रहेको थियो। अतिथिहरूले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए।
पुरस्कारतर्फ
- म्यान अफ द म्याच: दिनेश बोहरा (सिईसी काठमाडौं) – २७ रन र ३ विकेट
- प्लेयर अफ द टूर्नामेन्ट: सन्दीप साउद (एन्जलस स्पोर्ट्स एकेडेमी)
- उत्कृष्ट ब्याटर: जोय थापा (एन्जलस स्पोर्ट्स एकेडेमी)
- उत्कृष्ट बलर: साईमन पन्त (नेकस्स क्रिकेट एकेडेमी)
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सन्दीप साउदलाई ‘प्लेयर अफ द टूर्नामेन्ट’ घोषित गर्दै ब्याट पुरस्कार प्रदान गरिएको थियो। उपाधि विजेता सिईसी काठमाडौंले ट्रफी, मेडलसहित १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता एन्जलस स्पोर्ट्स एकेडेमीले ४१ हजार रुपैयाँ नगद पुरस्कार हात पार्यो।