वीरगञ्ज- पाँचौँ संस्करणको परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । शक्ति युवा क्लबको आयोजनामा यही वैशाख ५ गतेदेखि १२ गतेसम्म परवानीपुर खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।
शक्ति युवा क्लबका अध्यक्ष सुबोध श्रीवास्तवले प्रतियोगितामा छिमेकी मुलुक भारतको एक टोलीसहित नेपालका सात समूहको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा आयोजक शक्ति युवा क्लब (बारा), वीरगञ्ज युनाइटेड क्लब, वीरगञ्ज युथ क्लब, रिगल एन्फा क्लब (हेटौँडा), नव जनजागृति युवा क्लब सिमरा, चिडिया दह क्लब रौतहट, निजगढ फुटबल क्लब र यङ्ग स्टार क्लब (भारत) गरी आठ वटा समूह सहभागी हुनेछन् ।
प्रतियोगिता संयोजक सञ्जय मण्डलले प्रतियोगितामा पहिलो पुरस्कार दुई लाख रुपैयाँ, द्वितीय पुरस्कार एक लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको जानकारी दिए । खेलमा उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीलाई आर्थिक नगदबाट पुरस्कृत गरिने सहसंयोजक दीपक यादवले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार एक सय पुरस्कारको व्यवस्था गरिएको छ ।