काठमाण्डौ- सोमबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले देशको कानुन, प्रधानमन्त्रीको निजी भ्रमण, दुईदिने सरकारी बिदा र खाना पकाउने ग्यासको अभावलगायत विषयमा सरकारको स्पष्ट धारणा माग गरेका छन्।
अध्यक्ष राईले देशको कानुन किन कमजोर भएको भन्दै हालै अख्तियारका सचिवले नेताहरूले स्विस बैंकमा पैसा राखेको भन्ने प्रसंग उल्लेख गरे। विदेशमा राखिएको पैसा फिर्ता ल्याउन किन नसकिएको भन्दै उनले प्रश्न गरे। रोजगारीका लागि विदेश गएका नेपालीको शवसमेत ल्याउन नसक्ने अवस्था रहेको भन्दै कानुन कमजोर हो कि कानुन कार्यान्वयन गर्ने पक्ष कमजोर हो भन्ने प्रश्न गर्दै उनले सरकारप्रति व्यंग्यसमेत गरे।
देशमा बलात्कारका घटना बढिरहेको उल्लेख गर्दै उनले अपराधीहरूले कानुनलाई गोजीमा बोकेर हिँडेको जस्तो अवस्था देखिएको बताए। उनले ‘बलात्कार’ शब्दको अर्थ स्पष्ट पार्नसमेत माग गरे। ‘मन मिले चमत्कार, नत्र बलात्कार’ भन्दै उनले पुरुषहरू पनि पीडित भएको बताए। बलियो कानुन ल्याएर बलात्कार पुष्टि भएमा निर्ममतापूर्वक सजाय दिनुपर्ने उनको माग थियो।
बोल्ने क्रममा राईले प्रधानमन्त्रीको पद निजी नहुने भन्दै कार्यकारी पदमा रहेको व्यक्तिले निजी भ्रमणमा जाँदा पनि सुरक्षा संयन्त्र स्वतः सक्रिय भएर सँगै जाने भएकाले प्रधानमन्त्रीको कुनै पनि भ्रमण पूर्ण रूपमा निजी नहुने तर्क गरे। प्रधानमन्त्रीले सचिवालयलाई समेत जानकारी नदिई केका लागि भ्रमणमा गएको भन्दै उनले सदनलाई जवाफ दिनुपर्ने बताए।
देश प्राकृतिक विपद्को चपेटामा परेको उल्लेख गर्दै राईले सुनसरी-४ अन्तर्गत बराहक्षेत्रका वडा नम्बर ६ र ९ मा कोशी नदीको कटानका कारण सयौँ रोपनी खेतीयोग्य जमिन नष्ट भइरहेको बताए। कोशी ब्यारेजका ५६ वटा ढोका बन्द भएकाले हरेक वर्ष डुबानको समस्या हुने गरेको दाबी गर्दै उनले ‘ढोका खोल्ने चाबी कोसँग छ?’ भनेर प्रश्न गरे। सरकारले आफ्नो भूमि जोगाउन तत्काल पहल गर्नुपर्ने उनको माग थियो।
स्वास्थ्य क्षेत्रमा हप्ताको दुई दिन बिदाका कारण समस्या भइरहेको बताउँदै उनले बिरामीले लामो समय कुर्न नसक्ने भएकाले स्वास्थ्य क्षेत्रमा बिदाको व्यवस्था हटाउन माग गरे। झापाको बिर्तामोड क्षेत्रमा क्यासिनोमा सर्वसाधारण नेपालीले जुवा खेलेर पैसा हार्दा परिवार नै बिचल्लीमा परेको उल्लेख गर्दै उनले त्यसतर्फ निगरानी बढाउनुपर्ने बताए।
उनले काठमाडौं सहरका पोलहरूमा ‘एक्सट्रीम इनर्जी ड्रिंक’ को अत्यधिक विज्ञापन देखिएको उल्लेख गर्दै यसमा सरकारको समेत लगानी छ कि छैन भनेर प्रश्न गरे। यस विषयमा सरकारले जवाफ दिनुपर्ने उनको भनाइ थियो। राष्ट्रिय सभामा सांसदहरूलाई निदाउने सुविधा रहेको देखिएको उल्लेख गर्दै उनले प्रतिनिधिसभामा पनि सांसदहरूलाई निदाउने सुविधा रहे-नरहेको जानकारी दिन माग गर्दै उनले व्यंग्य गरे।
सर्वसाधारणले अझै खाना पकाउने ग्यास सहज रूपमा पाउन नसकेको उल्लेख गर्दै राईले सरकारले इन्डक्सन चुलो किनाउन खोजेको हो कि भन्ने प्रश्न गरे। उनले सम्बन्धित मन्त्रीसँग यस विषयमा जवाफ माग गरेका छन्। पारदर्शिता नै सुशासनको एउटा आधार भएको उल्लेख गर्दै उनले वर्षौंदेखि धरान बजारका सडकका नाममा घरजग्गा रोक्का राखिएको बताए। उक्त रोक्का कहिले फुकुवा हुन्छ वा हुँदैन भन्ने विषयमा स्पष्ट जानकारी दिन माग गर्दै उनले सम्बन्धित मन्त्रालयलाई जवाफ दिन आग्रह समेत गरेका छन्।