- इटहरीमा सञ्चालित सीप तथा रोजगार मेलामा ४० हजार ९२६ जना सहभागी भएकामा करिब एक हजार जना रोजगारीमा जोडिएको मन्त्रालयको दाबी
- मेलामा सहभागी प्रत्येक १०० जनामध्ये दुई जनाले पाए रोजगारी
- वैदेशिक रोजगारलाई बाध्यताबाट विकल्प बनाउने सरकारको योजना
काठमाडौं– मुलुकको बेरोजगारी न्यूनीकरण गर्न युवा, श्रम तथा रोजगार मन्त्रालयले सञ्चालन गरेको सीप तथा रोजगार मेलाबाट करिब एक हजार युवाले रोजगारी पाएका छन्। यही असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सञ्चालन गरिएको मेलाबाट उक्त संख्यामा युवाले रोजगारी पाएको मन्त्रालयले जनाएको छ।
स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने र युवालाई सीप अनुसारको रोजगारी दिने उद्देश्यले मेला आयोजना गरेको हो। तर कोशी प्रदेशको इटहरीमा आयोजित पहिलो मेलाले यस्ता कार्यक्रमबाट मात्र बेरोजगारी समस्या समाधान गर्न कठिन रहेको देखाएको छ। मन्त्रालयका अनुसार मेलामा ४० हजार ९२६ जनाले सहभागिता जनाएका थिए भने ७३७ जनालाई त्यहीँबाट रोजगारीमा जोडिएका थिए। अर्थात् मेलामा सहभागी प्रत्येक १०० जनामध्ये दुई जनाले रोजगारी पाएका छन्।
सहभागी भएकामध्ये धेरैलाई प्रारम्भिक छनोट गरी सीप परीक्षण अन्तरवार्ताका लागि सिफारिस गरिएको मन्त्रालयले जनाइएको छ। औपचारिकरुपमा मेला सकिए पनि अझै रोजगारीको खोजी गर्दै आउनेहरुलाई रोजगारदातासँग जोड्ने काम भइरहेकाले वास्तविक रोजगार पाउनेको संख्या बढ्ने मन्त्रालयका सूचना अधिकारी जगदीश पराजुलीले बताए।
‘मन्त्रालयले जनशक्ति व्यवस्थापन गरेर अझै पनि झापा र विराटनगरका रोजगार कार्यालयबाट निरन्तर काम गरिरहेको छ। रोजगारीका लागि आवेदन दिनेहरुलाई रोजगारदातासँग जोड्ने काम गरिरहेका छौं,’ उनले भने, ‘हाल अनुमानित एक हजार जना रोजगारीमा जोडिएको भन्ने छ। तर अन्तिम प्रतिवेदन आउँदा यो संख्या बढ्छ।’
लामो अवधिको तालिम लिन चाहनेहरुको भने सूची तयार भइरहेकाले उनीहरुलाई सिटिइभिटी, एनएभिटीलगायतसँग जोडिदिने जनाइएको छ। सरकारले रोजगार प्रवर्दन दशक २०८३/८४ देखि २०९२/९३ अन्तर्गत देशभर रोजगारीका अवसर सिर्जना गरी स्वदेशमै रोजगारी विस्तार गर्ने लक्ष्य राखेको छ। कोशी प्रदेशबाट सुरु भएको मेला क्रमशः अन्य प्रदेशमा विस्तार गर्दै लगिने जनाइएको छ। सरकारले एक लाख युवालाई रोजगारी दिने लक्ष्य लिएको छ। तर पहिलो मेलाको अवस्था हेर्दा उपलब्धि हासिल गर्न थप योजना बनाउनपर्ने देखिएको छ।
इटहरीको मेलामा रोजगारदाता कम्पनी, तालिम प्रदायक तथा रोजगारी खोज्नेहरुलाई एकै ठाउँमा ल्याइएको थियो। रोजगारदातासँग प्रत्यक्ष अन्तर्वार्ता गराउनुका साथै सीपमूलक तालिम, करिअर परामर्श आदि प्रदान गरिएको थियो।
मेलामा एआई ट्रेनिङ, बारिस्टा, अचार बनाउने, एसी मर्मत, सिटी सफारी इभी मर्मत, कुुक र वेटर, मेकअप तथा नेल आर्टस, आतिथ्य सत्कार, ग्राहक सेवा तथा सञ्चार कला, डिजिटल मार्केटिङ, आधारमूत लेखालगायतका १० वटा विधामा तालिम प्रदान गरिएको थियो। सो क्रममा रोजगारदाता र काम खोज्ने युवाबीच अनलाइनमार्फत सम्पर्क स्थापित गराउने प्रसाससमेत भएको जनाइएको छ।

अन्तर्राट्रिय श्रम संगठन आइएलओले गत फेब्रुवरीमा सार्वजनिक गरेको विवरणअनुसार नेपालमा युवा बेरोजगारी, अनौपचारिक रोजगारी, न्यून रोजगार, सीपको माग र आपूर्तिबीचको असन्तुलन श्रमबजारको मुख्य चुनौतीको रुपमा रहेको छ। यस्तो अवस्थामा रोजगार मेला आयोजना गर्नु सकारात्मक भए पनि त्यसबाट कति युवाले रोजगारी पाए भन्ने महत्त्वपूर्ण हुने सरोकारवाला बताउँछन्।
पछिल्ला वर्षहरुको तथ्यांक हेर्दा मुलुकमा रोजगारी नपाएर तथा यहाँको रोजगारीले जीविकोपार्जन गर्न कठिन भएर प्रत्येक वर्ष करिब आठ लाख युवा विदेसिन थालेका छन्। गत आर्थिक वर्षको तथ्यांकअनुसार स्थानीय तहका रोजगार केन्द्रमा करिब साढे सात लाख बेरोजगार सूचीकृत भएका थिए।
सरकारले वैदेशिक रोजगारलाई बाध्यताबाट विकल्प बनाउने बताउँदै आएको छ। मन्त्रालयले राष्ट्रिय रोजगार नीति–२०८३ को मस्यौदा तयार भइरहेकोसमेत जनाएको छ। वैदेशिक रोजगारीलाई वैकल्पिक बनाउन लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने, सीप विकासलाई उद्योगसँग जोड्नेलगायतका विषय महत्त्वपूर्ण हुने विज्ञले बताउँदै आएका छन्।