काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई आज भर्चुअल सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर विश्वास दिलाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीले २०७४ को निर्वाचनमा राम्रो मत हासिल गरी सरकार सञ्चालन गरेको र त्यस कार्यकालमा देशको आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति सुव्यवस्था र सुशासनका दृष्टिले ऐतिहासिक काम गरेको अध्यक्ष ओलीको दाबी थियो । उनले एउटा निर्वाचनमा हार्दैमा सुदृढ सङ्गठन र व्यापक जनाधार रहेको एमालेका नेताकार्यकर्ताले निराश हुन नहुने बताए ।
पार्टीले सातवटै प्रदैशमा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका अभियान सञ्चालन गरिरहेको छ ।